काठमाडौं : गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले पुष्टि गरे । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।
पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए । सत्यमान पटक–पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो ।
प्रवक्ता एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया