आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची थियो।
अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो।
तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलहरूको अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएन।
एमालेले नागरिकता, रेशम चौधरीको आममाफी र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा लिम्पियाधुरा–लिपुलेक बंगलादेशको बन्दरगाहसम्म पुग्ने पहुँचमार्गका लागि छाड्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै त्यसलाई विषय बनाएर उठेर विरोध जनायो।
त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत मिसिए।
बैठक एक घण्टाका लागि भनेर स्थगित गरिएको थियो। त्यसपछि पनि प्रतिपक्षी दलहरूसँग सहमति कायम हुन नसकेपछि सोमबार बिहान ११ बजेलाई तय गरिएको छ।
आजको सम्भावित कार्यसूचीमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने छ।
त्यसका अतिरिक्त दोस्रो संविधान सभा सदस्य, राप्रपाका सांसद श्यामसुन्दर टिवडेवाल र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेतृ मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउनु कार्यसूची छ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले जवाफ नदिएसम्म सदनको कामकारबाही अघि नबढ्ने बताएको छ।
‘हाम्रो अडान यथावत छ, सदनमा नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी दिएको विषय र भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे सरकारले जवाफ दिए कामकारबाही अघि बढ्छ, अन्यथा बढ्दैन,’ एमाले सचेतक महेश बर्तौलाले सेतोपाटीसँग भने।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संशोधित नागरिकता कानुन यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएकाले पार्टीका तर्फबाट अवरोध नहुने बताउँछन्।
‘हाम्रो कुरा सही रहेछ भनेर हिजोको सर्वोच्च अदालतको अल्पकालीन आदेशले पनि भनिसकेको छ। त्यहीअनुसार अघि बढ्न भन्छौं। सदनको कामकारबाही अगाडि बढ्छ भन्ने नै लाग्छ,’ उनले सेतोपाटीसँग भने, ‘हामी पनि छलफलमै छौं।’
भारत भ्रमणको विषयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेबारे सल्लाह भइरहेको उनको सचिवालयले बतायो।
‘प्रधानमन्त्रीले जवाफ दिनेबारे सल्लाह भइरहेको छ, टुंगो लागिसकेको छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया