नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको विश्वास गुमाइसकेको दाबी गरेका छन् । राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली नागरिकले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।
“चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरूद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरू एकदम कुर्लिएर गए । जसका विरूद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् । यहाँ भन्दा विचित्र के हुन्छ ?,” उनले भने, “त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि काग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लीला भइस्क्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन् ।”
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरू ‘मरेको लाश’ जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिस्ट नेताहरूलाई पनि नागरिकले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको जिकिर गरे । उनले देशमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेको समेत बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया