×

शिव-शिखर सहकारीका ५० हजार बचतकर्ताको १० अर्बभन्दा बढी रकम जोखिममा (भिडियो रिपोर्ट)

फाल्गुन २७, २०७९ | दाक्सु मिडिया

सहकारीका सञ्चालकहरूले निक्षेपको ठूलो रकम अपचलनगर्ने खराब प्रवृत्ति झांगिइरहँदा विभिन्न जिल्लामा ३६ शाखा रहेको शिव-शिखर सहकारीका सञ्चालकहरूले बचतकर्ताको १० अर्बभन्दा बढी रकम जोखिममा हालेका छन् । डडेलधुरा, कैलाली, दाङ, सुर्खेतलगायत जिल्लाका ५० हजारभन्दा बढी बचतकर्ताको १० अर्बभन्दा बढी रकम जोखिममा परेको हो ।

डडेलधुरामा रहेको शिव-शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूले ४० करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लगाउँदै बचतकर्ताहरूले आन्दोलन थालेका छन् । सहकारीले रकम फिर्ता गर्न नसक्ने भनेपछि बचतकर्ताहरूले आन्दोलन थालेका हुन् । दुई हजार बचतकर्ताको ४० करोड रकम बचत संकलन गरेको यो सहकारीले जिल्लामा दुई करोड ५० लाख मात्रै लगानी गरेको छ ।

सहकारीले लिएको रकमकै कारण सर्वसाधारण विचल्लीको अवस्थामा पुगेको डडेलधुराका बचतकर्ता तिलक हमालको भनाइ छ ।

निक्षेपको अधिकांश हिस्सा सञ्चालकहरूकै कम्पनीमा गरेको सहकारीले बचतकर्ताको ठूलो रकम जोखिममा हालेको छ । डडेल्धुरा, दाङ, सुर्खेत र धनगढीमा १० अर्बभन्दा बढी रकम संकलन गरेर अपचलन गरेको आरोप बचतकर्ताले लगाएका छन् । आफूले बचत गरेको रकम फिर्ता गर्न नसक्ने जवाफ दिएपछि सहकारीका सञ्चालकलाई पक्राउ गरी कारबाही गरेर आफ्नो पैसा फिर्ता दिलाइ दिन प्रशासनलाई गुहारेका छन् ।

यो सहकारीले शाखा विस्तार गरेका सबै जिल्लाका गरी ५० हजारभन्दा बढी बचतकर्ताको रकम जोखिममा छ । बचतकर्ताहरूले सहकारीविरुद्ध संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् । ३६ भन्दा बढी शाखाबाट मार्ट, एग्रोलगायत व्यवसायमा लगानी गरेको सहकारीले बचतकर्तालाई पाँच वर्षमा दोब्बर रकम दिने प्रलोभनमा पारेको थियो ।

‘छोरीको बिहेका लागि महिनामा २५ सय रुपैयाँ जम्मा गरेको पैसा डुब्यो । फोन गर्दा उठाउँदैन, भागेर कहाँ गयो गयो,’ कैलालीकी बचतकर्ता नन्दा चन्द बताउँछिन् । उनले आफूले दु:ख गरेर राखेको रकम जसरी पनि पाउनुपर्ने बताउँछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: