नेकपा एमाले सोलुखुम्बुले जिल्लाको नेचासल्यान गाउँपालिकाका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पश्चात एमालेले आईतबार नेचा बिहिबारे बजारको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि मतदातालाई धन्यवाद ज्ञापन गरेको हो ।
नवनिर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेताहरुको उपस्थितीमा गरिएको कार्यक्रममा मतदाताहरुको विश्वासलाई टुट्न नदिने नवनिर्वाचित सांसदहरुले प्रतिवद्धता जनाएका छन् ।
पार्टीका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मानवीर राईको विषेश आतिथ्यता तथा एमालेको पालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेबाट जिल्लाको प्रदेशसभा २ मा निर्वाचित बुद्धि कुमार राजभण्डारी, प्रदेशसभा १ मा पराजित भएका उत्तम कुमार बस्नेतसहित पार्टीका जिल्ला अध्यक्ष डुफकुमार बास्तोला लगायतको उपस्थिती रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।
गठबन्धनको धन्यवाद ज्ञापन कार्यक्रम पनि नेचासल्यानमै
लोकतान्त्रिक बाम गठबन्धन सोलुखुम्बुले पनि नेचासल्यानमै मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।
गठबन्धनबाट प्रदेशसभा १ मा निर्वाचित माओवादी केन्द्रका गोम्बु शेर्पा (कज्र्याङ)को प्रमु्ख आतिथ्यतामा नेचासल्यान गाउँपालिका ३ स्थित कुसुम स्मृति प्रतिस्ठानको भवनमा भएको कार्यक्रममा मतदातालाई धन्यवाद दिदै चुनावको बेला गरेको प्रतिबद्धतालाई पुरा गर्ने नवनिर्वाचित सांसद शेर्पाले प्रतिबद्धता जनाए ।
नेकपा माओवादी केन्द्र नेचासल्यान कमिटी अध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सहसचिव सागर किराँती, नेपाली कांग्रेस नेचासल्यान गाउँ कार्यसमितिका उपसभापति घनश्याम बास्तोलासहितका नेताहरुको सहभागीता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया