सोलुदुधकुण्ड नगरपालिकाले प्लास्टिक झोलामाथि कडाइ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २६

सोलुखुम्बु । वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनलाई प्राथमिकता दिँदै सोलुदुधकुण्ड नगरपालिकाले प्लास्टिक झोलाको प्रयोग, बिक्री तथा वितरणमा कडाई गरेको छ । प्लास्टिकजन्य वस्तुहरूले नगर क्षेत्रमा बढ्दो फोहर, ढल अवरोध तथा जनस्वास्थ्यमा पारेको असरलाई मध्यनजर गर्दै नगरले कडाइका साथ पूर्ण प्रतिबन्ध लागू गरेको हो ।

बुधबार नगर प्रहरीले गस्तीको क्रममा प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरिएका केही पसलहरूमा छापासमेत मारेको छ । छापा मार्ने क्रममा प्लास्टिक झोला प्रयोग गरिएका सामग्रीहरू जफत गरिनुका साथै सम्बन्धित व्यवसायीहरूलाई चेतावनी दिइएको नगर प्रहरीले जनाएको छ ।

नगरपालिकाले सबै उपभोक्ता र व्यवसायीहरूलाई बायोडिग्रेडेबल झोला वा अन्य वातावरणमैत्री विकल्पहरू प्रयोग गर्न आह्वान गरेको छ।

यस्तै, ‘आधारभूत सरसफाइ तथा फोहरमैला व्यवस्थापन ऐन, २०७५’ अनुसार नियम उल्लंघन गरेमा पहिलोपटक २५,००० र दोहोरिएमा ५०,००० सम्म जरिवाना गरिने प्रावधान रहेको बताइएको छ।

नगरपालिकाको वातावरण शाखाका अनुसार प्लास्टिक अपशिष्टका कारण ढलजाम, जमिन र पानीको प्रदूषण मात्र नभई पशुपंक्षी तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *