×

दोलखाको भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा

साउन ११, २०८१ | दाक्सु मिडिया

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट शुक्रबार क्षमा पूजा गरिएको छ।शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। पसिना आएपछि राष्ट्र र जनताले कुनै पनि अनिष्टको सामना गर्नुनपरोस भनेर राष्ट्रप्रमुखले क्षमा पूजा पठाउने परम्परा छ।

सोही परम्परा अनुसार राष्ट्रपति कार्यालयको तर्फबाट शुक्रबार मन्दिरमा धार्मिक विधि अनुसार क्षमा पूजा गरिएको हो। राष्ट्रपतिको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल आफै कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरेका थिए ।

क्षमा पूजामा ११ पुरोहित ब्राम्हणहरुबाट भीमेश्वरको शिलामा अविच्छिन्न जलधारा सहित लघुरुद्री पाठ गरेका थिए। यस्तै मन्दिर परिसरमै यज्ञ होमाधी गरिनुका साथै मुलुक शान्तिको कामना गर्दै माङ्गलिक दोष शान्ति सहित ग्रह पूजा समेत गरिएको छ ।

यस्तै सरकार र स्थानीय जनताको तर्फबाट दुई जोर कालो बोका बली दिएर बली पूजा समेत गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिएका छन् । क्षमा पूजाको सम्पूर्ण खर्च राष्ट्रपति कार्यालय र सरकारले बेहोर्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: