बागलुङ, असोज १७ –बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित गाईघाट नजिक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ग १ ज ६१०० नम्बरको पिकअप भ्यान गलकोट हटिया बजारबाट ताराखोलातर्फ जाँदै गर्दा शुक्रबार साँझ सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
दुर्घटनामा परेर गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
उक्त दुर्घटनामा सोही वडाका २४ वर्षीय मिलन परियार र ४३ वर्षीय वीरबल परियार घाइते भएका छन्। घाइतेमध्ये वीरबल परियारको अवस्था गम्भीर रहेकाले गलकोट नगर अस्पतालमा प्रारम्भिक उपचारपछि पोखरा रिफर गरिएको छ। अर्का घाइते मिलन परियारको गलकोट अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
दुर्घटनाको खबर प्राप्तलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्