दशैंका लागि अग्रिम टिकट बुकिङ अझै खुल्न सकेन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाडौं । दशैंका लागि अग्रिम बस टिकट बुकिङ अझै खुल्न सकेको छैन । दशैं आउन १५ दिन बाँकी रहँदा पनि टिकट बुकिङको विषयमा अन्योल कायमै छ ।

अनौपचारिक छलफलहरू भए पनि बाढीपहिरोका कारण देशका विभिन्न ग्रामीण क्षेत्रका बाटो र पुलहरूमा ठूलो क्षति पुगेको तथा मनसुन अझै सक्रिय रहेको र मौसमविद्हरूले समेत यसको निरन्तरता रहने बताएकाले तत्काल टिकट बुकिङ गर्न समस्या भएको यातायात व्यवसायीहरूले बताएका छन् ।

यात्रु सुविधाका लागि यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सम्बन्धित पक्षसँग परामर्श गरी देशभरिका सार्वजनिक बसहरूको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउँदै आएको छ ।

यस वर्षको दशैं भने ६ असोजदेखि सुरु हुँदैछ । तर, यातायात व्यवस्था विभागले भने यस विषयमा सरोकारवाला पक्षसँग अझै छलफल गरेको छैन ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार बाढीपहिरोका कारण सडकको अवस्था खराब भएको र सरकारले सडक सुरक्षाको ग्यारेन्टी नगरेकाले टिकट बुकिङ खुल्न नसकेको हो ।

सिटौलाले दशैंको अग्रिम टिकट बुकिङबारे औपचारिक छलफल अझै नभएको बताए । ‘अझै छलफल भइसकेको छैन,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘अब एक दुई दिन पछाडि छलफल होला ।’

उनले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘यसमा सरकारले के निर्णय गर्नुपर्छ सरकारले जानोस्, हामीलाई सबैतिरबाट अप्ठेरो पार्ने काम भएको छ,’ उनले भने ।

दशैंमा १८ देखि २० लाख नागरिकलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउनुपर्ने चुनौतीमा आफूहरू चिन्तित रहेको उनको भनाइ छ ।

तर, यातायात व्यवसायीले भोग्नुपरेको समस्यामा सरकारको उपस्थिति शून्य रहेको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘व्यवसायीको पीडामा सरकारको उपस्थिति शून्य छ । हामी सरकार छ र भनेर खोज्ने अवस्थामा पुगेका छौं,’ उपाध्यक्ष सिटौलाले भने ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि सरकारले कुनै कार्यविधि नै नबनाएकाले व्यवसायीहरूले यात्रुलाई स्पष्ट जवाफ दिन नसकेको पनि सिटौलाको भनाइ छ ।

उनले बाढीपहिरोका कारण सडकको अवस्था बिग्रिएको र त्यसको व्यवस्थापनमा सरकारले ध्यान नपुर्‍याएको आरोप उनको छ ।

यस्तो अवस्थामा यात्रुहरूलाई टिकट दिएर यात्रा गराउनु जोखिमपूर्ण हुने भएकाले तत्काल टिकट बुकिङ खोल्न नसकिएको उनले बताए ।

‘त्यस्तो अवस्थामा टिकट दिन हामीलाई समस्या छ,’ उनले भने, ‘सडकको अवस्था सुरक्षित छ भनी सरकारले ग्यारेन्टी नगरेसम्म अग्रिम टिकट बुकिङबारे अगाडि बढ्न सकिँदैन ।’

सिटौलाले दशैंमा यात्रुहरूलाई काठमाडौंबाट बाहिर निकालेर मात्र नपुग्ने भन्दै उनीहरूलाई गाउँ–गाउँसम्म सुरक्षित रूपमा पुर्‍याउनुपर्ने बताए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा। डोलराज खनालले दशैं आउन थोरै समय बाँकी रहँदा पनि यस विषयमा सरोकारवाला निकायहरूबीच छलफल हुन नसकेको बताए ।
सडकको सुनिश्चितता भएपछि मात्र थप छलफल गरिने र यसमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । यातायात व्यवसायीले हरेक वर्ष सडक सुरक्षाको माग गर्दै आएको र यस वर्ष पनि सोही माग दोहोर्‍याउने सिटौलाले उल्लेख गरे ।

दशैं लक्षित गरी नयाँ बसहरू भने थपिने क्रममा रहेको सिटौलाले बताए । यी नयाँ गाडी पोखरा, बुटवल, वीरगञ्ज, बनेपा, काठमाडौं, धनगढी, महेन्द्रनगर, झापा, विराटनगर लगायत देशका विभिन्न भागमा सञ्चालनमा आउनेछन् ।

यद्यपि, उच्च गुणस्तरका यी नयाँ गाडी सञ्चालन गर्न पनि सडक गुणस्तर महत्त्वपूर्ण हुने भएकाले सरकारले सडक मर्मत र सुरक्षाका विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको भनाइ छ ।

औपचारिक छलफल भएको छैन स् सार्वजनिक यातायात केन्द्रीय महासंघ

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलराज खनालका अनुसार अग्रिम टिकट बुकिङका सम्बन्धमा अहिलेसम्म कुनै औपचारिक छलफल र विभागीय बैठक बस्न सकेको छैन ।

उनले दशैं आउन थोरै समय बाँकी रहँदा पनि यस विषयमा सरोकारवाला निकायहरूबीच छलफल हुन नसकेको बताए ।

‘अझै अग्रिम टिकट बुकिङबारे छलफल हुन सकेको छैन,’ डा. खनालले भने, ‘अग्रिम टिकट बुकिङबारे बैठक राख्ने भन्ने कुरा भए पनि त्यसको मिति र एजेन्डा अझै तय भइसकेको छैन ।’

अग्रिम टिकट बुकिङबारे २४ भदौमा बैठक बोलाउने विभागको तयारी

दशैंका लागि अग्रिम बस टिकट बुकिङका विषयमा चासो बढिरहेका बेला यातायात व्यवस्था विभागले यस सम्बन्धमा छलफल गरिरहेको जनाएको छ ।

विभागका महानिर्देशक राजीव पोखरेलले दशैं लक्षित यातायात व्यवस्थापनका लागि तयारी भइरहेको र समय आएपछि विस्तृत छलफल गरिने बताए ।

महानिर्देशक पोखरेलका अनुसार दशैंको चाडबाड लक्षित व्यवस्थापनका लागि काम भइरहेको छ । उनले अग्रिम टिकट बुकिङका सम्बन्धमा व्यवसायीहरूसँग प्रारम्भिक छलफल १९ भदौमैै भएको जानकारी दिए । अब २४ भदौमा पूर्णतयारी बैठक आह्वान गरिएको उनको भनाइ छ ।

विभागले दशैंमा यात्रुहरूलाई सहज र सुरक्षित यात्राका लागि सम्पूर्ण तयारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, तर विस्तृत निर्णय भने २४ भदौमा बस्ने बैठकपछि मात्र सार्वजनिक हुनेछ ।
‘हामीले २४ भदौमा यसको एउटा पूर्णतयारी बैठक गर्ने भनेका छौं, यसमा उहाँहरूलाई हामीले बोलाएका छौं,’ पोखरेलले भने ।

उक्त बैठकमा अग्रिम टिकट बुकिङ, अनलाइन टिकेटिङ, भाडादर तथा मूल्य नियन्त्रण, सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने व्यवस्था, हेल्प डेस्क स्थापनाजस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ ।

साथै, दुर्गम क्षेत्रमा जाने गाडीहरूको ‘भेहिकल फिटनेस टेस्टिङ’ अनिवार्य गर्ने र त्यसका लागि विभिन्न गाडी कम्पनीहरूसँग समन्वय गरी परीक्षण केन्द्रहरू खोल्ने विषयमा पनि छलफल गरिने उनले बताए ।

यात्रु तथा उपभोक्ता गुनासो सम्बोधन गर्न हटलाइन व्यवस्थापनका साथै उजुरी छानबिनका लागि तत्काल समस्या समाधान गर्न सक्ने एउटा समिति गठन गर्ने विषयमा पनि बैठकमा छलफल हुने महानिर्देशक पोखरेलले जानकारी दिए ।

विभागले दशैंमा यात्रुहरूलाई सहज र सुरक्षित यात्राका लागि सम्पूर्ण तयारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, तर विस्तृत निर्णय भने २४ भदौमा बस्ने बैठकपछि मात्र सार्वजनिक हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Devon1957

    September 8, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *