काठमाडौँ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. सी.के. राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै डा. राउतले सप्तरीमा विगतका दशकदेखि डर, त्रास, असुली र जंगलराज रहेको दाबी गर्दै त्यसलाई अन्त्य गरी पूर्ण शान्ति र सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
जनताको हकअधिकारका लागि लड्ने क्रममा २४ पटकभन्दा बढी जेलनेल र अनेकौं राजकीय यातना भोगे पनि आफू बुद्ध र गान्धीको अहिंसावादी मार्गमा अडिग रहेको उल्लेख गर्दै उनले निर्दोष जनतालाई झुठा मुद्दामा फसाउने प्रवृत्तिको अन्त्य गर्ने दृढता व्यक्त गरेका छन् ।
डा. राउतले राजविराजको विकासका लागि अलपत्र परेका ठूला आयोजनाहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । जसमा गजेन्द्र नारायण सिंह अस्पतालका नयाँ भवनहरू, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय र कन्या छात्रावास जस्ता महत्त्वपूर्ण योजनाहरू रहेका छन् । साथै, राजविराज नगरपालिकाको पुरानो ुबिटोरीु जग्गा समस्या समाधान गर्ने, निर्माणाधीन बसपार्क र कोल्ड स्टोरलाई तत्काल सञ्चालनमा ल्याउने उनको योजना छ।
सप्तरीलाई आधुनिक प्रविधिको ुहबु बनाउने लक्ष्यका साथ राउतले आईटी पार्क, कल सेन्टर र कोडिङ आर्मी जस्ता नवीन परियोजनाहरू अघि सारेका छन् । राजविराज-१० मा मधेश स्पेस सेन्टर र स्कूल अफ एआई एन्ड रोबोटिक्स स्थापना गरी मधेशलाई प्रविधिको क्षेत्रमा विश्वस्तरमा चिनाउने उनको दाबी छ । औद्योगिक विकासका लागि कुनौली-राजविराज-रूपनी औद्योगिक कोरिडोर निर्माण गर्ने र विशेष आर्थिक क्षेत्रमार्फत कृषि र उद्योगलाई जोडेर हजारौं युवाहरूलाई स्वदेशमै रोजगारी दिने कुरा प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तै, किसानका समस्यालाई सम्बोधन गर्दै डा. राउतले खेत-खेतमा विद्युतीय सिँचाइ पुर्याउने, मलखादको सहज उपलब्धता सुनिश्चित गर्ने र कृषि उपजको उचित मूल्य दिलाउने कार्यमा ठोस पहल गर्ने बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्