रास्वपाको नीतिगत प्रस्थानका १०० आधार सहितको चुनावी घोषणापत्र सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नीतिगत प्रस्थानका १०० आधार’ सहित आफ्नो चुनावी बाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।

बिहीबार सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा बाचापत्र सार्वजनिक गरेका हुन् ।

फागुन २१ गतेपछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै रास्वपाले मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ । बाचापत्रको मुख्य बुँदा बाचन गर्दै उपसभापति डा। स्वर्णिम वाग्लेले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा माथि) पुर्‍याउने महत्वाकांक्षी योजना प्रस्तुत गरे।

रास्वपाले अर्थतन्त्र उकास्नका लागि ‘मिशन मोड’ मा काम गर्ने जनाएको छ। बाचापत्रमा स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार डलर (करिब ४ लाख रुपैयाँ) पुर्‍याउने लक्ष्य राखिएको छ।

बाचापत्रमा सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ। सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ भन्ने अवधारणा लागू गर्ने, न्याय सुधारमा मेरिटोक्रेसी (योग्यतातन्त्र) स्थापना गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ । आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौं ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने पनि पार्टीले घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *