काठमाडौं । लगातारको वर्षाले सडकमा पहिरो झर्ने क्रम नरोकिएपछि राजधानी जोड्ने दुई प्रमुख राजमार्गको यात्रा प्रभावित भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन रोकिएको छ।
चितवनको धारापानी, सिमलधारा, तुइनखोला र नाम्सीखोलालगायत स्थानमा पहिरो तथा ढुंगा खसेका छन्। धारापानीमा सडक पुनः भासिएपछि यातायात पूर्ण रूपमा रोकिएको हो।पृथ्वी राजमार्गतर्फ धादिङको कृष्णभिर, ज्यामिरेघाट, जरेखेत र कमेरेभिर क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ। कृष्णभिरमा नयाँ ट्र्याकतर्फको ग्याबिनसमेत केही तल झरेको छ।
पहिरो हटाउने काम भइरहेको भए पनि वर्षा जारी रहेकाले नयाँ पहिरो खस्ने जोखिम कायमै छ। यही कारण तत्कालै दुवै राजमार्गमा नियमित यातायात सञ्चालन गर्न कठिन रहेको प्रहरीले जनाएको छ।
सडकको अवस्थाबारे प्राविधिक टोलीले निगरानी गरिरहेको छ। प्रशासनले जोखिमलाई ध्यानमा राख्दै यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अवस्था नबुझी राजमार्गतर्फ ननिस्कन आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्