समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विभिन्न राजनीतिक दलले पेस गरेको बन्दसूचीबाट ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिन सकिने व्यवस्था गरेको थियो। आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा उपस्थित हुन नसकेको अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने प्रावधान रहेको थियो।

नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न दलका उम्मेदवार रहेका छन्। विवरणअनुसार जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन्।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएपछि बन्दसूची समायोजन गर्नुपर्ने भएकाले केही उम्मेदवारको नाम फिर्ता लिइएको सम्बन्धित दलले जनाएको छ। आयोगले अन्तिम नामावली सार्वजनिक हुँदा फिर्ता लिने संख्या अझै बढ्न सक्ने जनाएको छ।

समानुपातिकतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची दर्ता गराएका थिए। आयोगले पुस १३ र १४ गते बन्दसूची पेस गर्न समय दिएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *