काठमाण्डौँ । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ ।
आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको नामहरूको कलस्टर प्रतिशत हेरिएको छ । जसअन्तर्गत एकै व्यक्तिको नाम दुई ठाउँमा रहेको फेला परेका छन् । एउटा कलस्टरमा हुनुपर्ने व्यक्तिको नाम अर्को कलस्टरमा रहेको जस्ता त्रुटि रहेका छन् । यस्ता त्रुटि नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत फेला परेका छन् ।
कुनै दलले बुझाएको सूचीमा केही उम्मेदवारको हस्ताक्षर छैन । निर्वाचन आयोगका अनुसार पिछडिएको क्षेत्र भनेर नाम राखेका व्यक्तिहरूको नागरिकता हेर्नुपर्ने भएको छ ।
यी लगायतका विवरण प्रष्ट गर्न र नमिलेका विषय मिलाउन आयोगले दलहरूलाई इमेल गरेको हो ।
यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका थिए । त्यसउपर अध्ययन गरेर निर्वाचन आयोगले आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन भनेको हो ।
आयोगका सूचना अधिकारी घिमिरेका अनुसार आजदेखि दलहरूले यही पुस २७ गतेसम्म आयोगले औंल्याएका त्रुटि सच्याउन सक्नेछन् ।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्