काठमाण्डौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा पार्टीले तोकेको मापदण्ड र संख्याको कडाईपूर्वक पालन गर्न मातहतका समितिहरूलाई पुनः निर्देशन दिएको छ।
बिहीबार केही क्षेत्रीय कार्यसमितिहरूले पार्टीको अघिल्लो परिपत्रविपरीत उम्मेदवार सिफारिस गर्न थालेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले नयाँ परिपत्र जारी गर्दै निर्धारित प्रक्रिया र मापदण्डअनुसार मात्र सिफारिस पठाउन ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसले यसअघि १५ मंसिर र १७ मंसिरमा परिपत्र गरेर प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो ।
अघिल्लो परिपत्रमा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न भनिएको थियो ।
यस्तै राष्ट्रियसभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाम मध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउनेछ’ उल्लेख गरिएको थियो ।
तर, कांग्रेसका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरू केन्द्रले निर्धारण गरेको मापदण्डविपरीत उम्मेदवारहरू सिफारिस गरिरहेका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्