काठमाडौं । एक महिनाभन्दा बढी समयसम्म बस्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनसम्बन्धी कुनै ठोस निष्कर्षबिनै शनिबार सकिएको छ। असोज २८ गतेदेखि सुरु भएको बैठकले महाधिवेशनबारे एक शब्दसमेत उल्लेख नगरी १६ बुँदे निर्णय जारी गर्दै बैठक स्थगित गरेको हो।
बैठकमा सबैभन्दा बढी विवाद महाधिवेशन कहिले गर्ने भन्ने विषयमा रह्यो। शेखर–गगन समूहले आगामी चुनावभन्दा अघि महाधिवेशन गर्नुपर्ने अडान राखे पनि अर्काे पक्ष चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्ने मतमा अडिग रह्यो। सहमति नजुट्दै गएपछि बैठक पटक–पटक स्थगित भइरहेको थियो।
शुरुवातमा बैठकको नेतृत्व गरेका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि कार्यवाहक सभापतिको भूमिका पूर्णबहादुर खड्काले सम्हालेका थिए। देउवा फर्किएपछि भने उनले नै चुनावपछि महाधिवेशन गर्नेगरी बाटो खोलिदिएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार अधुरै रहेका विषयमा छलफल जारी राख्न बैठक मंसिर ११ गते दिउँसो २ बजे पुनः बस्नेछ।
बैठकका प्रमुख निर्णयहरू
बैठकले भदौ २३–२४ का घटनाका पीडितप्रति संवेदना व्यक्त गर्दै क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गरेको छ। जेन–जेड पुस्ताले उठाएका भ्रष्टाचारविरुद्धका आवाज स्वाभाविक रहेको उल्लेख गर्दै कांग्रेसले सुशासनका मुद्दालाई आफूले सकारात्मक रूपमा लिने दाबी गरेको छ।
साथै, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्तासहित आवश्यक प्रक्रिया अघि बढाउन निर्देश दिइएको छ। वर्तमान राजनीतिक संकट समाधानका लागि बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको छ।
जेन–जेड आन्दोलन तथा पछिल्लो राजनीतिक घटनाक्रमको अध्ययन–अनुसन्धान गरी दस्तावेजीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्