काठमाण्डौँ । संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु गरेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो ।
उक्त निष्कर्षका आधारमा न्यायालयको ढोका ढकढक्याउनका लागि ‘हस्ताक्षर क्याम्पेनिङ’ सुरुवात गरिएको विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार, विघटित प्रतिनिधिसभाका सांसदहरूले तयार पारेको हस्ताक्षरको सूची पार्टीमा बुझाइनेछ । यसअघि एमालेले पनि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।
प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।
त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । अन्तरिम सरकारले आगामी फागुन २१ मा चुनावको मिति घोषणा गरेको छ । ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्