पहिलो पटक सांसद बनेर रक्षामन्त्री बनेका राई को हुन् ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३१

पहिलो पटक मन्त्री बनेका मानवीर राई सोलुखुम्बुबाट निर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य हुन् । २०७९ सालको निर्वाचनमा कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता बलबहादुर केसीलाई उनै राईले पराजित गरेका थिए ।
सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ निवासी उनले एसएलसीसम्म अध्ययन गरेका छन् । विद्यार्थीकालमा भूमिगत भएर राजनीति गरेका उनले संसदीय निर्वाचनको इतिहासमा ३२ वर्षपछि एमालेको उम्मेदवारको रूपमा कांग्रेसलाई पराजित गर्न सफल भएका थिए ।
पार्टी विभाजनको बेला पनि पार्टीको संस्थापन पक्षमै रहेर काम गरिरहेका उनी ५२ वर्षको उमेरमा रक्षामन्त्री बन्न सफल भएका छन् । २०२८ सालमा जन्मेका उनी हाल एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्जसमेत हुन् ।
भूमिगतकालमा एमालेको विद्यार्थी संगठनमा सक्रिय भएका उनी २०४८ सालमा एमालेको सोलुखुम्बु उपसचिव बनेका थिए । २०७२ सालमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बनेका राईलाई २०७४ सालमा एमालेले प्रतिनिधिसभाको टिकटको लागि सर्वसम्मत सिफारिस गरेको थियो ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा राईले ३२ वर्षको संसदीय इतिहासमा विजयी भएर एमालेको झन्डा फहराए  । यस्तै उनको संसदमा पहिलो पटक इन्ट्री भयो ।
लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई उनले दुई हजार ७७९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । राईले १९ हजार ३२४ मत प्राप्त गर्दा केसीले १६ हजार ५४५ मत मात्रै पाएका थिए । राई २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन जिल्ला विकास समितिको सदस्य समेत थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *