काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस शेयरका लागि कुल १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
त्यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि हुने तथा करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो। बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्