राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्त्वपूर्ण छ : सभामुख

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २९

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भाषा र साहित्यको माध्यमबाट नेपालको एकीकरण गर्ने गर्ने सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

शनिबार भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए ।

उनले भने, ‘हुन त भानुभक्तले त्यतिबेलाको आध्यात्मिक रामायण, खासगरी संस्कृतमा लेखिएको रामायणको उल्था गरेको भन्ने सुनिन्छ । तर उल्थामात्र नभएर रामले समाजलाई गरेको योगदान, सामाजिक क्षेत्रमा गर्नुपर्ने सद्भाव र सही कामका लागि सहिष्णुता र सहयोगको भावनाबाट प्रेरित गरेर संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा ढाल्ने कामहरू गरियो । भानुभक्तले रामायणलाई नेपालीमा लेखेर आधुनिक रामायण बनाइरहँदा ती खण्डहरूमा गरेको वर्णनहरूले नेपाली भाषा केहो भनेर नेपालको मेची देखि महाकालीसम्म रहेका भासाभासीहरू सजिलोसँग बुझ्ने गरी ल्याउने कुरा र नेपाली पनको विकास गर्ने कुरामा महत्त्वपूर्ण योगदान दिएको छ । यदि भानुभक्तले त्यो योगदान नगरेको भए भाषा यसरुपबाट नेपालमा राष्ट्र बनाउने सन्दर्भमा पनि केही कठिनाइहरू आउन सक्थे होलान् ।’

नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले राष्ट्रलाई भौगोलिक रूपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गरेजस्तै भानुभक्तले भाषा र साहित्यको माध्यमबाट उत्तिकै महत्त्वपूर्ण अभियान थालेको बताए ।

उनले भने, ‘नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलिक रूपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गर्नुभयो । त्यो समयमा वीर रस, भक्ति रस र राष्ट्र एकीकरण गरेर ठुलो राष्ट्रका स्वाभिमानी नेपाली बन्ने चाहानामा आधारित केहि कविताहरू आए । खासगरी १८७२को सुगौली सन्धिमा राष्ट्र निर्माण गर्ने कुरामा धक्का खाएर नेपाल खुम्चिरहँदा साहित्यले पारिरहेको प्रभाव र कविहरूले रचना गरिरहेका कविताहरूमा निराशा छाएको पाइन्छ । त्यसपछि दशरथका छोरा रामको रचना गर्ने कुराहरूमा आदिकवि भानुभक्तले अग्रसरता लिएको पाइन्छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *