काठमाण्डौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठ्का प्रश्नको जवाफ दिने दिन तोकेका छन् ।
‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको दिन तोकेको जानकारी गराउँदछु,’ सभामुख अर्यालले भने ।
बुधबार प्रतिनिधिसभाका तीन वटा बैठक बसे । तीन वटै बैठकको कार्यसूची यही थियो । यो कार्यसूची अनुसार बैठक चलाउन प्रधानमन्त्री बालेन शाहको उपस्थिति विपक्षीले खोजे । तर, प्रधानमन्त्री शाहले संसद् बैठकमा गएनन् ।
प्रधानमन्त्री शाहले आफू उपस्थित हुन नसक्ने भनेर नीति तथा कार्यक्रममाथि छलफलको प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तोकेका थिए । सुरुमा विपक्षीले यो मानेनन् । पहिलो बैठक स्थगित भएपछि दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
त्यसपछि छलफल प्रारम्भ हुनु अगाडि छलफल सुन्न प्रधानमन्त्री उपस्थित हुनुपर्ने भनेर विपक्षीले माग राखे । विपक्षीको यो अडानमा रास्वपा सहमत भएन । परिणाममा तीन वटै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरुवात नै हुन सकेन ।
अन्तिममा सभामुख अर्यालले प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको दिन तोकेको जानकारी दिएका हुन् ।
नियम ३८ मा नीति तथा कार्यक्रम सम्बन्धी कार्यविधि छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्