नयाँ संसदमा आङ्देम्बेको प्रश्न : ‘३५ वर्षमा केही भएन भन्ने भाष्य किन ?’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले देशको विगत र वर्तमान अवस्थाबारे महत्वपूर्ण धारणा राख्दै सरकारसँग गम्भीर प्रश्न उठाएका छन् ।

नयाँ राजनीतिक यात्राको सुरुआत भएको उल्लेख गर्दै उनले समाजमा निराशा फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । विगत ३५ वर्षमा देशमा केही पनि प्रगति नभएको भन्ने धारणा गलत रहेको उनको जिकिर थियो ।

उनले १० वर्षे सशस्त्र द्वन्द्व, राजतन्त्रको निरंकुशता, विनाशकारी भूकम्प र कोरोना महामारीजस्ता चुनौतीहरूका बाबजुद नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । गाउँसम्म सडक, विद्युत्, खानेपानी, स्वास्थ्य सेवा, बैंक तथा सञ्चार पहुँच विस्तार हुनु प्रगतिकै संकेत भएको उनको भनाइ थियो।

यसैबीच उनले भदौ २३ र २४ गते संसद भवन र सिंहदरबारमा भएको आगजनी घटनाको अनुसन्धानप्रति प्रश्न उठाए। जाँचबुझ आयोगले एक दिनको घटनालाई मात्र प्राथमिकता दिएको र अर्को दिनको घटनालाई बेवास्ता गरेको भन्दै उनले निष्पक्ष छानबिनको माग गरे ।

“कसैले २३ गते देख्ने, २४ गते नदेख्ने—यो कस्तो अनुसन्धान होरु” भन्दै उनले सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे । दोषी उम्किन नदिन र निर्दोष नफस्ने सुनिश्चित गर्नुपर्नेमा कांग्रेस दृढ रहेको उनले स्पष्ट पारे।

निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै उनले रचनात्मक काममा कांग्रेसको सहयोग रहने बताए। तर संविधान र जनअपेक्षाविपरीत कदम चालिएमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने चेतावनी पनि दिए ।

आङ्देम्बेले नेपाली कांग्रेस अब गगन थापाको नेतृत्वमा समयअनुसार रुपान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै सबै दलहरूलाई सहकार्य र एकताका साथ देश निर्माणमा लाग्न आह्वान गरे । साथै उनले २००७ सालदेखि हालसम्मका आन्दोलनमा सहिद भएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *