स्वास्थ्य सेवालाई थप प्रभावकारी र द्रुत बनाउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई थप प्रभावकारी र द्रुत बनाउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारी थालेको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले सवारी चापका कारण एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न मोटरसाइकल एम्बुलेन्सको अवधारणा अघि सारेको हो ।

सडकमा हुने जामका कारण एम्बुलेन्स अड्किँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै तत्काल घटनास्थलमा स्वास्थ्यकर्मी पुगेर प्राथमिक उपचार सुरु गर्न यो विकल्प रोजिएको हो । बैठकमा कार्यवाहक प्रमुख डंगोलले जटिल स्वास्थ्य अवस्था सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो पुर्‍याउन स्वास्थ्य विभागलाई निर्देशन दिइन् ।

उनले प्रविधिमैत्री सेवामा जोड दिँदै बिरामीका आफन्तले एम्बुलेन्स कहाँ आइपुग्यो र त्यसमा को(को स्वास्थ्यकर्मी छन् भन्ने कुरा मोबाइलबाटै हेर्न मिल्ने प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । आपतकालीन अवस्थामा प्रि(हस्पिटल मेडिकल सर्भिसलाई वैज्ञानिक र व्यावहारिक बनाउन आवश्यक अध्ययन गरी संयन्त्र निर्माण गरिने उनले स्पष्ट पारिन् ।

काठमाडौं महानगरपालिकाले २०७६ वैशाखदेखि नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा यो सेवा सञ्चालन गर्दै आएको छ । यस अवधिमा महानगरले १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ भने ८४ हजार ४ सय ८९ जना बिरामीले प्रत्यक्ष सेवा पाएका छन् ।

तथ्याङ्क अनुसार एक जना बिरामीलाई सेवा दिँदा औसत १ हजार ६ सय ५ रुपैयाँ खर्च हुने गरेको छ, जुन भार महानगरपालिकाले नै व्यहोर्दै आएको छ । यो सहकार्यपछि ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै सुरक्षित रूपमा बच्चा जन्माउन सफल भएका छन् भने कोभिड–१९ को महामारीका बेला २३ हजार ५ सय जनाले सेवा लिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *