सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाको सोताङ प्राथमिक अस्पतालले एम्बुलेन्स प्राप्त गरेको छ । काठमाण्डौँ महानगरपालिकाले आज मंगलबारदेखि दुर्गमका गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको हो । जसमा सोताङ अस्पताल पनि परेको छ ।
महानगरले देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न थालेको हो । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।
महानगरले आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो । यसको लागि २०८० असोज १० गते देशभरीका गाउँपालिकासँग महानगरले निवेदन मागेको थियो ।
सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट गरेर महानगरले गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउन थालेको हो । महानगरले एम्बुलेन्स खरिदका लागि उक्त आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।
काठमाण्डौं महानगरपालिकाले सोताङ प्राथमिक अस्पताललाई एम्बुलेन्सको चाबी मंगलबार गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बुझेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्