वडाध्यक्षसँग नोकझोकः बालेनले भने १० दिनको तिहारलाई आजै सक्किन भन्छु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाण्डौँ । काठमाडौं महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर र एक वडाध्यक्ष बीच घेचपेच चलेको छ।

बैठकमा नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न जग्गाभाडा सम्झौता गर्ने सम्बन्धी प्रस्ताव पेश हुँदा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकार बीच नोकझोक भएको हो ।

बैठकमा महानगरपालिकाको २६ नम्बर वडामा रहेको नेपाल स्काउटको जग्गाभाडामा लिने सम्बन्धी प्रस्ताव पेश भएको थियो । स्काउटको कार्यकारिणी समितिले महानगरलाई जग्गा भाडामा दिन सैद्धान्तिक सहमति दिइसकेको छ ।

प्रस्ताव पेश भएपछि वडाध्यक्षले यसमा मेरो आपत्ति छ भन्दै पहिला महानगरको आफ्नै भवन बनाउनुपर्नेमा ध्यान नपुगेको भन्दै आपत्ति जनाए ।

त्यसपछि मेयर बालेनले महानगरपालिकाको भवन निर्माणको काम तिहारपछि सुरु हुने जानकारी गराए ।

वडाध्यक्षले स्काउटको जग्गा कसैलाई दिनुहुँदैन भनेर अदालतमा मुद्दा परिरहेको सन्दर्भ निकाल्दै यस्तो बेला सम्झौता गरेर किन अस्पताल भवन बनाउनेतिर लाग्ने ? भन्दै प्रश्न गरे।

बालेनले पुनः तिहारपछि निर्माण कार्य सुरु हुने बताए ।

अध्यक्षले प्रतिप्रश्न गरिरहे– ‘कुन बेला सुरु हुन्छ, तपाईं हामी आएकै साढे तीन वर्ष भइसकेको छ। जहिले अब हुन्छ तब हुन्छ भनेर आश्वासन दिएर हुन्छ? त्यहाँ ठेकेदारले सामानहरू राखिरहेको छ। काम सुरु नहुँदा ठेकेदारले क्षतिपूर्ति माग्यो भने के गर्ने ? घर बनाउन लाग्नेभन्दा बढ्ता क्षतिपूर्ति दिनुपर्ने होला फेरि ।’

मेयर बालेनले आश्वासन दिएको नभई प्रतिप्रश्न गरे– तिहार पछाडि होस् भन्न खोज्नु भाको कि नहोस् भन्न खोज्नु भाको ? भनेपछि नबनोस् भन्न खोज्नुभएको हो ?

वडाध्यक्षले जवाफ दिए– ‘नबनोस् भनेको होइन, छिटो बनोस् भनेको हो ।’

बालेन पनि तात्तिए– ‘तिहार छिटै सकाइदिनुपर्‍यो अब मैले ?’

वडाध्यक्ष बोलिरहेका थिए। बालेन पनि बोलिरहे– ‘१० दिनको तिहार मैले आजै कसरी सकाइदिनु त।’

‘हत्तेरिका । त्यो गरेन भनेदेखि तपाईंले जिम्मा लिनुस् । आजभन्दा दुई वर्ष अगाडि पनि तपाईंले जिम्मा लिनुभएको थियो,’ वडाध्यक्षले पुराना कुरा कोट्याउन खोजे ।

मेयर बालेन फेरि तिहारकै कुरामा अडिए । ‘आजै सकाउन मिल्छ तिहार रु,’ उनले भने ।

वडाध्यक्षले थपे– ‘आजै होइन भन्या । सुरुवात त गर्न पर्‍यो नि ।’

‘ए, ए, ल, ल, तिहारलाई चाँडै सक्किन भन्छु म हस् ।’ वडाध्यक्षलाई खिसी गर्दै बालेनले भने ।

वडाध्यक्ष पुनः बोल्न खोज्दै थिए । बालेन अगाडि बढेर प्रस्ताव नम्बर तीन प्रस्तुत गर्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *