काठमाडौँ, आउँदो कात्तिक २० र २१ गते देशभरिका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा जुकाको औषधि खुवाइने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, हरेक वर्ष वैशाख र कात्तिकमा सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष लक्ष्मी पूजाको दिन परेको कारण सारिएको हो। मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार नयाँ मिति तय गरिएको हो।
महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, देशभरका ७५३ वटै पालिकामा सञ्चालन हुने यो दुईदिने अभियानमा झन्डै २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
कार्यक्रम सफल बनाउन ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ। अघिल्लो चरणमा झन्डै ९० प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ क्यापसुल सेवन गरेका थिए भने ८७ प्रतिशतले जुकाको औषधि खाएका थिए।
स्वास्थ्य अधिकारीहरूले बालबालिकाको पोषण सुधार र जुकाबाट बचाउन अभिभावकहरूलाई तोकिएको मितिमा बालबालिकालाई नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थामा लगेर औषधि खुवाउन अनुरोध गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्