गृहमन्त्रीद्वारा आईजीपी दिपक थापाको बिदाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १८

काठमाडौं : गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामनासहित बिदाई गरेका छन् ।

गृहमन्त्री लेखकले सफल कार्यकाल सम्पन्न गरी सेवा निवृत्त भएका थापालाई बधाई दिँदै उनको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । उनले थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक र इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि राष्ट्र सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा थापालाई बधाई दिँदै उनको सेवा निवृत्त जीवन स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भनी शुभकामना दिएका छन् । त्यसै अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली संगठनको सदस्य भई देश र नागरिकको सेवामा समर्पित हुन पाउनु सौभाग्यको विषय भएको बताए ।

उनले आफ्नो कार्यकालमा संविधान र कानूनले प्रदान गरेको जिम्मेवारी पूर्ण इमानदार, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै यस अवधिमा नेपाल प्रहरीको आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार तथा गृहमन्त्रालयबाट प्राप्त अभिभावकत्व, हौसला र मार्गनिर्देशनप्रति कृतज्ञता व्यक्त गरे ।

बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *