
काठमाण्डौँ । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छन् । फागुन ४ गतेदेखि सुरु हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी नेपाल फर्किएकी हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार बुधबार नेपाल आइपुगेकी हुन् । उनी व्यवसायीक फुटबल खेल्न ग्रीस पुगेकी थिइन् ।
उनले निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन् । अञ्जिलाले अट्रोमिटौबाट तीन खेलमा मौका पाएकी छन् ।
एन्फा एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरुप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप गराउन लागेको हो ।
फागुन ४ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले सहभागिता जनाउने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया