
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल शुरु भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू भर्खरै बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि बोलाएपछि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेताहरू कृष्ण सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन् । कांग्रेसका एक नेताका अनुसार संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएका थिए ।
संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
तर सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ । दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि संसदमा गतिरोध देखा परेको छ । त्यसको अन्त्यका लागि प्रतिपक्षीसँग छलफल गर्ने र सौहार्दपूर्ण वातावरण तयार गरी संसदका बाँकी कामहरू अगाडि बढाउनेबारे प्रयास थालिएको हो । आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएको उनको सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया