×

सेयरमा मार्जिन कारोबार सेवा सुरु, तर दिगो हुन सकेन

फाल्गुन २०, २०८० | दाक्सु मिडिया

काठमाडौं – ब्रोकर कम्पनीबाटै केही रकम सापटीका रूपमा लिएर सेयर खरिद गर्नु नै मार्जिन कारोबार हो । मार्जिन कारोबार गर्न धितोपत्र बोर्डले २०७४ कात्तिकमै निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५’ बनाइ लागू पनि गर्‍यो ।

यिनै व्यवस्था अनुसार नासा सेक्युरिटिज ९ब्रोकर नम्बर ५८० ले मार्जिन कारोबार सेवा सुरु गर्‍यो, तर दिगो हुन सकेन । हाल नासाले पनि मार्जिन कारोबारको सेवा रोकेको छ । ‘यसअघि हामीले करिब १ सय जनालाई मार्जिन कारोबार सुविधा पनि दिएका थियौं,’ नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौडेलले भने, ‘पछि कोष पनि भएन, सेवा पनि बन्द भयो ।’

मार्जिन सेयर कारोबार असफल हुनुमा मुख्यतः ब्रोकर कम्पनीहरूसँग न्यून लागतको कोष नहुनु र कारोबारका लागि पर्याप्त प्रडक्ट नहुनु पनि हो । कारोबारका लागि नयाँ प्रडक्ट नहुँदासम्म मार्जिन कारोबार विस्तार हुन नसक्ने पौडेलले बताए । नेपालको धितोपत्र बजारमा ‘इन्ट्राडे’ कारोबार सुविधा छैन । एकै दिन मूल्य उतार चढावबाट लगानीकर्ताले फाइदा लिने कारोबार नै इन्ट्राडे कारोबार हो । अन्य देशमा पनि ब्रोकरबाट मार्जिन लोन लिएर इन्ट्राडे कारोबार गर्ने र नाफा लिने परिपाटी छ ।

‘आफूसँग भएको रकमले करिब दोब्बर रकमको सेयर किनेर केही मिनेटमै नाफा लिई बेच्न सकिने व्यवस्था भए मात्रै मार्जिन लोनको खास औचित्य रहन्छ,’ सेयर लगानीकर्ता पिताम्बर खकुरेलले भने, ‘नत्र, सेयर धितो राखेर बैंकले नै सजिलै ऋण दिइहाल्छन्, ब्रोकरले दिने मार्जिन लोन पनि सेयर धितो रहेजस्तै हो ।’

ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारका लागि आवश्यक रकम आफ्नै स्रोत वा वाणिज्य बैंकबाट ऋण लिई जुटाउन सक्ने व्यवस्था मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधिमा उल्लेख छ । यसरी बैंकबाट ऋण लिएर लगानी गर्दा ब्रोकर कम्पनीको ब्याज तथा सेवा शुल्क लगानीकर्तालाई महँगो पर्न जान्छ । जसले गर्दा ब्रोकर कम्पनीबाट हुने मार्जिन कारोबार बैंक लागतसँग प्रतिस्पर्धी हुन सक्दैन ।

कम लागतमा पर्याप्त कोषको उपलब्धता नभए मार्जिन कारोबार गर्न नसकिने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । मार्जिन रकम उपलब्ध गराउन ठूलो रकमको कोष आवश्यक पर्छ । रकम जुटाउन ब्रोकर कम्पनीलाई समस्या रहेको उनले बताए । ‘ब्रोकर कम्पनीले बैंकबाट ऋण लिन पनि धितो चाहियो, अर्कातर्फ बैंककै ऋण हामीमार्फत लिनुभन्दा त बैंकबाटै लिँदा लगानीकर्तालाई लागत कम पर्छ,’ उनले भने ।

हाल लगानीकर्ता आफैंले सेयर धितो राखेर मार्जिन लेन्डिङ प्रकृतिकै कर्जा बैंकबाट पाउँछन् । व्यक्तिगत लगानीकर्ताले १५ करोडसम्म र संस्थागत लगानीकर्ताले २५ करोड रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । बैंकहरूबाट प्रवाह हुने सेयर कर्जामा राष्ट्र बैंकले नै नीतिगत व्यवस्था गर्छ, जसले सिधा धितोपत्र बजारलाई असर पार्ने गरेको छ । त्यही कारण ब्रोकर कम्पनीबाटै मार्जिन लेन्डिङ उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न लगानीकर्ताले आवाज उठाउँदै आएका छन् ।

सेयर धितो कर्जामा बैंकले लिने ब्याजसरह प्रतिस्पर्धा गर्न सक्ने स्थिति हुने गरी छुट्टै कोष खडा गर्न सके मात्रै मार्जिन कारोबार सहज हुने सापकोटाले बताए । बैंकहरूले ब्रोकरलाई के आधारमा ऋण दिने, बैंकले ब्रोकरबाट लिने ब्याज कति हुने, ब्रोकर कम्पनीहरूले सेवाग्राहीबाट लिने ब्याज तथा शुल्क कति हुने, मार्जिन कारोबार अवधि तथा सेटलमेन्ट प्रक्रियाबारे थप नीतिगत व्यवस्था जरुरत रहेको ब्रोकरहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्से मिलेर यी विषय टुंगो लाग्ने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । मार्जिन कारोबारका लागि केही झन्झटिला प्राविधिक पक्ष पनि देखिएको ब्रोकर कम्पनी बताउँछन् । यस्तो कारोबार गर्न ब्रोकर कम्पनीले छुट्टै मार्जिन खाता खोलिदिनुपर्छ । मार्जिन खाताको वास्तविक मार्जिन दैनिक गणना गर्नुपर्छ ।

यी व्यवस्थाका लागि ब्रोकर कम्पनीहरूलाई थप जनशक्ति र ब्याकअप सिस्टम चाहिन्छ । त्यसकारण ब्रोकर कम्पनीले हाल लगानीकर्ताले प्रयोग गरिरहेको टीएमएसबाट नै मार्जिन कारोबार गर्न सक्ने गरी व्यवस्था मिलाउनुपर्ने बताउँदै आएका छन् । ‘नेप्सेको टीएमएसमा नै रेगुलर कारोबार र मार्जिन कारोबारको विन्डो छुट्ट्याउनुपर्छ,’ सापकोटाले भने, ‘तर, हालको कारोबार प्रणाली टीएमएसमा त्यो सुविधा छैन । अर्कातर्फ, एक लगानीकर्ताले एउटा ब्रोकरबाट एउटा मात्रै खाता खोल्न मिल्छ ।’

हालकै कारोबार प्रणाली ९टीएमएस० मा पनि यो सुविधा राख्न सकिने उनले बताए । तर, मार्जिन कारोबार गर्न छुट्टै खाता खोलिदिएर ब्रोकर कम्पनीले केही प्राविधिक कार्य गरेपछि सहज हुने नेप्सेको भनाइ छ । ‘कार्यविधिमा नै यस्तो कारोबारका लागि छुट्टै मार्जिन खाता खोल्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार ब्रोकर कम्पनीले काम गर्न नेप्सेको कुनै प्रविधि बाधक बन्दैन,’ नेप्से प्रवक्ता मुराहरि पराजुलीले भने ।

मार्जिन कारोबारका लागि छुट्टै डिम्याट खाता खोलिसकेपछि ग्राहकले त्यो खाताबाट किनेको सबै सेयर ब्रोकरको ‘पुल एकाउन्ट’ मा जान्छ । ग्राहकले जहिले रकम चुक्ता गर्छन्, त्यसपछि पुल एकाउन्टबाट सेयर खुला गरिन्छ र सबै स्वामित्व ग्राहकको हुन जान्छ । ग्राहकको मार्जिन खातामा भएको सेयरको वास्तविक बजार मूल्य हिसाब गर्न ब्रोकरले नै ब्याकअप सिस्टम व्यवस्था गर्नुपर्छ ।

त्यही हिसाब आधारमा ब्रोकर कम्पनीले सेयर मूल्य घट्दै गए मार्जिन कल गरेर ग्राहकसँग तोकिएको मार्जिन रकम कायम गर्नुपर्छ । लगानीकर्ताको मार्जिन खाता गणना गरी प्रत्येक दिन कारोबारको अन्तिम मूल्यका आधारमा ४० प्रतिशतभन्दा माथि नै वास्तविक मार्जिन कायम गर्नुपर्छ । यदि ४० प्रतिशतभन्दा कम भए ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

कार्यविधि अनुसार ब्रोकरले मार्जिन कल गरेपछि लगानीकर्ताले कम्तीमा ४० प्रतिशतभन्दा माथि पुग्ने गरी थप नगद बुझाउनुपर्छ वा लगानीकर्ताले आफ्नो नियमित डिम्याट खाताको सेयर मार्जिन खातामा स्थानान्तरण गरेर पनि ४० प्रतिशतभन्दा माथि पुर्‍याउन सक्नेछन् ।

उदाहरणका रुपमा १० लाखको सेयर खरिद गर्दा लगानीकर्ताले ५० प्रतिशत अर्थात् ५ लाख रुपैयाँ भुक्तानी गरेको छ र बाँकी ५ लाख ब्रोकरमार्फत लिएको छ । पछि सेयर मूल्य घट्दै गएर ८ लाखमा झर्‍यो, जुन मूल्यमा ५ लाख ब्रोकरमार्फत मार्जिन रकम तिरिएको छ, यस्तो अवस्थामा ग्राहकको रकम नै ३ लाखमा झरेको मानिन्छ र ग्राहकले थप रकम भुक्तानी गर्नुपर्छ वा मार्जिन खातामा थप सेयर राख्नुपर्छ ।

लगानीकर्ताले थप सेयर वा नगद भुक्तानी नगरे ब्रोकर कम्पनीले चौथो कार्य दिनमा मार्जिन खातामा रहेको कुनै पनि कम्पनीको सेयर बिक्री गर्न सक्ने व्यवस्था छ । यसरी सेयर बिक्री गर्न ब्रोकर कम्पनीलाई लगानीकर्ताको अनुमति पनि चाहिँदैन । उक्त सेयर बिक्रीबाट ब्रोकरले लगानीकर्ताको मार्जिन दर ४० प्रतिशतभन्दा माथि पुर्‍याइदिन सक्ने छन् । कर्जाको भाखा नाघेर नवीकरण नभएको अवस्था वा मार्जिन कर्जा चुक्ता नगरेको अवस्था बाहेक अन्य कारण ब्रोकर कम्पनीले लगानीकर्ताको सेयर बिक्री गर्न नपाउने व्यवस्था कार्यविधिमा छ ।

ब्रोकर कम्पनीले कति दिन सक्छन् मार्जिन सुविधा ?
कुनै पनि सेयर खरिद गर्दा उक्त सेयरको कुल मूल्यमा कम्तीमा ५० प्रतिशत रकम लगानीकर्ताले नै चुक्ता गर्नुपर्छ र बाँकी बढीमा ५० प्रतिशत रकम ब्रोकर कम्पनीले सापटी दिने हुन् । तर, सेयर खरिदपछि मूल्य घट्दै गए ब्रोकर कम्पनीले मार्जिन कल गर्नेछन् र लगानीकर्ताले थप रकम चुक्ता गर्नुपर्ने हुन्छ । यदि सेयर मूल्य बढ्दै गयो भने ५० प्रतिशतभन्दा कम नहुने गरी सेयर झिक्न वा नियमित कारोबार खातामा सार्न सक्नेछन् ।

त्यस्तै लगानीकर्ताले रकम चुक्ता गर्न नसके ब्रोकर कम्पनीले सेयर बिक्री गरेर आफ्नो रकम असुल्न सक्ने र बाँकी रकम लगानीकर्तालाई नै फिर्ता गर्नुपर्ने व्यवस्था छ ।
ब्रोकर कम्पनीले आफ्नो सम्पत्ति मूल्य ९नेटवर्थ० को दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था छ । १० करोड नेटवर्थ भएका कम्पनीले २० करोड रुपैयाँसम्म मात्रै यस्तो कर्जा दिन सक्छन् ।

एकाघर परिवारका सदस्यलाई नेटवर्थको १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार दिन पाउँदैनन् । १० करोड नेटवर्थ भएका कम्पनीले एक व्यक्ति वा त्यो व्यक्तिको एकाघर परिवारका सदस्यलाई १ करोडभन्दा बढी रकम दिन नपाइने व्यवस्था छ । मार्जिन कारोबार सुविधा दिनुभन्दा अघि नै ग्राहकसँग ब्रोकरले लिने सेवा शुल्क तथा ब्याज, खरिद गर्ने सेयर विवरण, मार्जिन कलका सर्तहरूमा सम्झौता गर्नुपर्ने हुन्छ ।

जुनसुकै कम्पनीका सेयरमा पाइँदैन मार्जिन कारोबार सुविधा
मार्जिन लोन सुविधा जुनसुकै कम्पनीको सेयर खरिदमा पाइँदैन । मार्जिन कारोबार सम्बन्धी निर्देशिकाले नै यसबारे स्पष्ट पारेको छ । जसअनुसार विगतका दुई आर्थिक वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिएका, कम्तीमा १० हजार सेयरधनी रहेका कम्पनीको सेयर खरिदमा मात्रै यो सुविधा पाइन्छ ।

कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नभएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारणसभा गरेका कम्पनीमा मार्जिन कारोबार सुविधा दिन सक्ने व्यवस्था छ ।
नेप्सेले बर्सेनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची नै सार्वजनिक गर्ने गरेको छ । बैंकबाट सेयर धितोमा लिइने कर्जा पनि यीनै कम्पनीको सेयर धितोमा पाइन्छ ।

यो वर्ष १ सय १२ कम्पनीलाई नेप्सेले मार्जिन कारोबार गर्न योग्य ठहर गरेको छ । गत वर्षको तुलनामा यसपालि मार्जिन कारोबारका लागि कम्पनी थप भएका हुन् । गत वर्ष ८७ मात्रै मार्जिन कारोबारका लागि योग्य थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: