काठमाण्डौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । विगत चार दिनदेखि नकारात्मक रहेको नेपाल स्टक एक्सचेञ्ज परिसूचक सोमबार २१.३० अङ्कले बढेर २७६१.२६ विन्दुमा पुगेर बन्द भएको हो ।
आज दिनभर बजारमा कुल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३१७ वटा स्क्रिप्टको कारोबार हुँदा १ करोड ८ लाख कित्ता सेयर खरिद बिक्री भई सो बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य बढेको छ । कुल १७९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन ।
बजारमा आज म्युचुअल फण्ड बाहेक सबै समूह सकारात्मक रहे । तीमध्ये विकास बैंकका १.१० प्रतिशतको वृद्धि नै सर्वाधिक रह्यो । अरू सबै समूहको वृद्धि एक प्रतिशतभन्दा कम रहेको छ ।
आजको बजारमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीको सेयर मूल्यमा क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतको वृद्धि देखिएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्