वैशाख दोस्रो सातासम्म नलगाए १३ लाख मात्रा कोरोनाको खोप खेर जाने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ३०

३० चैत्र, काठमाण्डौ – नेपालमा कोरोना विरुद्धको खोप अभियान सुस्त गतिमा सञ्चालन हुँदा खोप खेर जाने सम्भावना बढेर गएको छ । अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ सक्नुपर्ने बाध्यता छ । किनभने वैशाख १७ सम्म मात्रै सो खोप लगाउन मिल्छ । अब अप्रिलको अन्त्यसम्म सो खोप सकाउन दैनिक ७६ हजार ४७१  जनालाई लगाउनै पर्छ । 

यद्यपि पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा कोभिड विरुद्धको खोप लगाउने दर क्रमशः घट्दै गएको छ । सोमबार देशभर जम्मा १५ हजार ३३५ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । २७ चैत अर्थात् आइतबार २० हजार ८२८ जनाले, २५ चैतमा २६ हजार ४५ जनाले खोप लगाएका थिए । यस्तै, २४ चैतमा ५० हजार ९३ जना, २३ चैतमा ५६ हजार २२७ जना, २२ चैतमा १७ हजार ७५५ जना र २१ चैतमा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

यसरी क्रमशः खोप लगाउनेको सङ्ख्या कम हुँदै गएको खण्डमा कोरोनाविरुद्धको खोप खेर जाने सक्ने सम्भावना प्रबल रहेको स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापनका अनुसार केन्द्रीय भण्डारण केन्द्रमा तीन लाख मात्रा र मात्रा प्रदेश र स्थानीय तहका खोप केन्द्रमा १० लाख जोन्सोन र एस्ट्राजेनिका खोप रहेको  छ ।  

स्वास्थ्य सेवा विभागका अधिकारीका अनुसार स्थानीय तहको चुनाव नसकिएसम्म खोप अभियानले तीव्रता पाउने सम्भावना कम छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राका अनुसार तेस्रो लहरमा धेरै जना कोरोना सङ्क्रमित भए । तर कतिपय मानिस सङ्क्रमण दर कम भएपछि खोप लगाउन गएनन् । यसरी सङ्क्रमित भएकाहरूमा तत्काल फेरि सङ्क्रमण हुँदैन भन्ने मानसिकताका कारण पनि खोप लगाउनेको सङ्ख्यामा कमी आएको हुन सक्ने उनको भनाइ छ ।

यस्तै, चैत २५ देखि वैशाख १८ सम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदैछ । यो अभियान सञ्चालन भइरहेकोले पनि कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या कमी आएको सरकारी अधिकारीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *