×

छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड

चैत्र २२, २०७८

इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय दिने घोषणा सुनाएको हो । 

बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको न्यूयोर्क पोष्टले जनाएको छ । अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजायँ सुनाइएको उल्लेख छ ।

इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेको बताइएको छ । तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताउँदै आएको थियो ।

ती शिक्षकको यस्तो क्रियाकलाप सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सुरक्षामा कतिपयले प्रश्न उठाएका छन् । विश्वको ठूलो मुस्लिम बहुल देश इन्डोनेसियामा हजारौंको संख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: