आफ्नै आमा मार्न फिरौती दिने छोरा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ७

पोखराः घर बेच्न नमानेको निहुँमा १ लाख रुपैयाँ दिएर आमाको हत्या गर्न लगाएको आरोपमा कास्की प्रहरीले पोखरा १२ बस्ने ओमबहादुर नेपालीलाई पक्राउ गरेको छ । नेपालीले ३ चैतमा साथी कुमार गुरुङलाई लगाएर आफ्नै वृद्ध आमाको हत्या गराएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

‘ओमबहादुर नेपालीले आफ्नो साथी कुमार गुरुङलाई आमा मार्नका लागि १ लाख दिन्छु भनी बचन दिएको’  प्रहरीले उपलब्ध गराएको घटना विवरणमा भनिएको छ । ३ गते राति अबेरसम्म २ जनासँगै बसी मादकपदार्थ रक्सी सेवन गरेको र कुमारले ओमकी आमा नौमाया नेपालीको हत्या गरेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले ३६ वर्षीय ओमसहित ३७ वर्षीय कुमारलाई पनि पक्राउ गरेको छ ।
 
प्रहरीका अनुसार मेरी आमालाई मार, म बाहिर बस्छु भनी ओमले घरको औलो आफैले खोलेर कुमार गुरुङलाई भित्र पठाएपछि कुमारले नौमायाको निदाएको अवस्थामा घाँटी थिची हत्या गरेका थिए । भोलिपल्ट ४ गते बिहान ओमबहादुर नेपालीले आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी आफैले प्रहरीलाई खबर गरेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
 
आफ्नै दाइले आमाको हत्या गरेको भनी नौमायाका कान्छा छोरा टेकबहादुरले प्रहरीमा जाहेरीसमेत दिएका छन् । प्रहरीले ओम र कुमारलाई थुनामा राखी थप अनुसन्धान गर्न कास्की अदालतबाट अनुमति लिइसकेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जनाएका छन् । उनीहरुमाथि अनुसन्धान गर्न ५ गते अदालतले प्रहरीलाई ६ दिनको म्याद दिएको हो । 

सुकुम्बासी बस्तीको घर बेच्‍न जेठा छोरा ओमबहादुरले आमा नौमायालाई दबाब दिँदै आएका थिए । कास्कीको मादी गाउँपालिका १० स्थायी ठेगाना भएको नेपाली परिवार पोखरा १२ शीतलदेवीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएको थियो । हत्या आरोपमा पक्राउ परेका ओमका साथी कुमारको घर पनि मादी गाउँपालिका वडा नम्बर ५ हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *