१ चैत, चितवन – चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् ।
भरतपुर महानगरपालिका-१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।
उनले विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनले भने ‘गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु ।’
योगी नरहरिनाथले कोटीहोम गर्नुभएको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् ।
गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए । गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि ९बूढो भएपछि० गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ ।
हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ । ‘गौ संरक्षण केन्द्रमा पालिएका गाईका लागि विभिन्न व्यक्तिले दाना, परालको व्यवस्थापन गर्दै आउनुभएको छ’, उनले भने, ‘नियमित आम्दानी नहुँदा गाईको संरक्षणमा गाह्रो हुँदै आएको छ, राज्यले यसतर्फ ध्यान दिएमा केही सहज हुने थियो ।’ केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया