
सोलुखुम्बु : मिति २०७८ फागुन १५ गते सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाको नम्बर ३ खास्तावमा निर्माण गरिएको सुविधा सम्पन्न १३ कोठे नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । यस भवनको आईतबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

गाउँपालिकाको एक करोड २० लाखको लागतमा करिब ६ महिना भित्रै निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा एमाले प्रदेश १ का संसदिय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले माप्यदुधकोशीका एमालेको जनप्रतिनिधिहरुको विकासमा जनता सन्तुष्ट रहेकाले आगामी चुनावमा पनि एमालेले नै जित्ने दाबी गर्नुभयो ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको मन जित्न सफल भएकाले विकासका लागि एमालेको विकल्प नभएको उहाँको दाबी छ । यस्तै गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले पालिकाको आफ्नै भवन उद्घाटन भएसँगै विगतको दिनमा जस्तो साँगुरो कोठामा कोचिएर सेवा प्रभाह गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको छ ।
उहाँले माप्यदुधकोशीमा गर्नुपर्ने विकास केही बाँकी नरहेको दाबी गर्दै आगामी निर्वाचनबाट आउँने जनप्रतिनिधिलाई पालिकामा के विकास गर्ने भन्ने चिन्ता हुने तर्क गर्नुभयो । यस्तै उपाध्यक्ष जुनिता माया मगरले माप्यदुधकोशीका जनताको सेवामा सहजताका लागि भवन उद्घाटन भएकाले अब गुणस्तरिय सेवामा आफुहरु केन्द्रित हुने बताउँनुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मानविर राई, गाउँपालिका प्रबक्ता तेज बहादुर मगर सहित पालिकाका अन्य वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया