×

एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छाैं : अर्थमन्त्री शर्मा

भदौ २९, २०७८ | दाक्सु मिडिया

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । 

एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् । 

‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छाैं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छाै ।’

पेस्की अध्यादेश आउँदैन

सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । 

एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे थियाे ।

मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए । कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताए ।

एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो । तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ । 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: