संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली घटनास्थलतर्फ जाने भएको छ ।
सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए ।
‘टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ महतोले भने, ‘सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला ।’ सोमबार बिहान मादी नगरपालिका- १, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो ।
जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।
उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा छ । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया