
तेह्रथुम । कालो सुनको नामले परिचित छ, अलैंची । राम्रो आम्दानी हुन थालेपछि किसानहरुले अलैंची खेतीलाई रोज्दै आएका छन् । केही वर्ष अघि प्रतिमन एक लाख रुपैयाँसम्म पुग्दा किसानहरु अलैंची खेतीमा निक्कै हौसिएका थिए ।
तर, यसवर्ष भने फल दिने सिजनमै अलैंचीको बोट सुक्न थालेपछि तेह्रथुमका किसान निराश बन्न थालेका छन् । पुख्र्यौली खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि किसानहरुले अलैंचीको खेती रोजेका हुन् । तर, बोट नै सुक्न थालेपछि उनीहरु अहिले चिन्तित् बनेका छन् ।
मुख्य आम्दानीको स्रोत नै अलैंची खेती गर्दै आएका किसानहरुमा निराशा छाएको छ । गत वर्षसम्म ६ मनसम्म उत्पादन भएको बगानमा यस वर्ष ५ किलो पनि उत्पादन हुने अवस्था नरहेको खहरसिंह मगरले जानकारी दिए ।
जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय अलैंची खेती फस्टाउँदै गएको छ । यहाँका किसानले पाँच रोपनीदेखि ५० रोपनीको क्षेत्रफलमा खेती गर्दै आएका छन । रोगले सताउन थालेपछि आम्दानीको स्रोत नै गुमेको भूमिकला लिम्बु गुनासो गर्छिन् ।
ओसिलो तथा भिरालो जमिनमा राम्रो उत्पादन हुने यो खेती योग्य जमिन मासेर किसानहरु खेती बिस्तार गर्दै आएका छन । गत चैतमा आएको मनसुनपछि खडेरीका कारण अलैंचीको जरा सुकेकाले ढुसीनास रोगका कारण बगानहरु सुक्न थालेको कृषि शाखा कार्यालय छथर गाउँपालिकाका प्रमुख हेम थापाले बताए ।
जिल्लाको ग्रामिण क्षेत्रमा किसानहरुले खेती गर्दै आएको अलैंची खेतीमा आएको समस्यालाई निराकरणका लागि सरोकारवाला निकाय तथा कृषि कार्यालयहरुले ध्यान दिन आवश्यक देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया