महामारी विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।
यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरु भइसकेको र साँझ ५ः०० बजेसम्म जारी रहनेछ ।
खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उहाँले बताउनुभयो । दुबै र पहिलो पटकमात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।
यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।
यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।
उहाँले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।
खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । चालू आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।j
फेसबुकबाट तपाईको प्रतिक्रिया