२३ असार, काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा हत्या भएको छ ।
एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री क्लाउडे जोसेपले हत्यामा संलग्न हतियारधारीहरुको पहिचान नभएको तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको बताएका छन्। उनले यस घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको पनि बताएका छन् ।
सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति रहेका मोइसेमाथि भ्रष्टाचारका आरोप लागेको थियो । त्यस्तै सरकारविरोधी हिंसात्मक आन्दोलन पनि मच्चिनुका साथै उनले मुलुकको संविधानको पनि उल्लंघन गरेको विपक्षीहरुले आरोप लगाएका थिए ।
यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा राष्ट्रपतिको राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो । गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क थियो ।
मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए । सो क्रममा आफ्नो पद बचाउन उनले सर्वोच्च अदालतका न्यायधीश र वरिष्ठ नेतासहित २३ जनालाई पक्राउको आदेश दिएका थिए ।
लामो समयदेखि अस्थिर रहँदै आएको हाइटीको राजनीति राष्ट्रपतिको हत्यासँगै थप अस्थिर बन्ने र हिंसा भड्किन सक्ने आशंका बढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया