×

निषेधाज्ञामा केही फेरबदल

असार ३, २०७८ | दाक्सु मिडिया

३ असार, काठमाडौं ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले देशभर जारी निषेधाज्ञाको स्वरुपमा केही फेरबदल ल्याउने निर्णय गरेको छ।

सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।

काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ । कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।

शर्माका अनुसार अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ । ‘‘अहिले जारी निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरु खुलाउन दिइएको छ । तर, असार ७ पछि भने यस्तो हुने छैन । स्मार्ट लकडाउन जारी भएपछि विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ,” शर्माले भने, ‘‘यसका लागि समय तोकिनेछ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइनेछ ।”

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’मा परिणत गर्ने निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संक्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । स्वास्थ्य मापदण्डमा कडाइ गर्दै चरणबद्ध रुपमा जनजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: