काठमाडौंमा भोलिदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २९

काठमाडौं । भोलि बिहीबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द हुने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिम बढ्दो क्रममा रहेका कारण निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। काठमाडौं प्रशासनले आज एक सूचना जारी गरी यो निर्णय गरिएको पनि जनाएको छ ।

‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,’ प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै समस्या आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत सूचनामा निर्देशित गरिएको छ । 

उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी सहितको बुधबारको बैठकले यो निर्णय गरेको हो ।

यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुनेछ । मानिसका भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । 

सार्वजनिक एवं निजी सवारीसाधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *