सबै प्रकारका क्रिकेट गतिविधिमा रोक लगाउने क्यानको निर्णय, नामिबियासँगको सिरिज पनि गरियो स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १८

 काठमाडौं । कोभिड-१९को बढ्दो प्रकोपका कारण नेपाल क्रिकेट संघ (क्यान)ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाइरसलाई मध्यनजर गर्दै कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने जनाएको छ ।

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

‘कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरु लगायत जिल्ला छनोट एवमं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरुसँग हुने भनिएको द्विपक्षीय एवंम त्रिपक्षीय सिरिजहरु तत्कालका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदै सोही अनुसार जिल्ला एवंम प्रादेशिक संघहरुले क्रिकेट खेलका सम्पूर्ण गतिविधिहरु संघबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गर्न यसै सूचनामाफत जानकारी गराइन्छ ।’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

यसका साथै नेपालले मे महिनामा नामिबियासँग खेल्‍ने एकदिवसीय सिरिज पनि स्थगित भएको छ ।यस्तै क्यानले आइसीसीको प्रावधान अनुसार नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लब, एकेडेमी एवंम संघसंस्थाहरुबाट आयोजना गरिने क्रिकेट प्रतियोगाहरुको कार्यविधि निर्माण गर्न लागिएको समेत जनाएको छ ।

साथै सो सम्बन्धि कार्यविधि निर्माण भइ लागू नभएसम्म अन्य क्लब एकेडेमी एवम् संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगीताहरुमा जिल्ला एवंम प्रादेशिक क्रिकेट संघहरुले स्वामित्व एवंम आवद्धता नजनाउन समेत क्यानले सूचना मार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *