राहत खाद्य सामग्रीमा अनुगमन, केही चामल बिना लेबल खुला अवस्थामा

DaksuMedia दाक्सु मिडिया
|
भदौ २४, २०८३

काठमाडौँ । भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ।

काठमाडौँको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा भण्डारण गरिएका राहत सामग्रीको निरीक्षण गर्दा अधिकांश खाद्य वस्तुको अवस्था सन्तोषजनक पाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा जिरा चामल, पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, आँपको जुस र आयोडिनयुक्त नुनलगायत सामग्रीको गुणस्तर तथा स्वच्छता जाँच गरिएको थियो। अधिकांश प्याकेटबन्द सामग्रीमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ उद्योगको विवरण र उपभोग्य मिति स्पष्ट रहेको पाइएको विभागले जनाएको छ।

तर, उसिना र मसिना चामल भने बिना लेबल खुला रूपमा राखिएको फेला परेको छ। खुला खाद्यान्नको स्रोत तथा गुणस्तर यकिन गर्न कठिन हुने भन्दै विभागले त्यसप्रति चासो जनाएको छ।

विभागले राहत सामग्री वितरण गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड र ‘असल वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न सम्बन्धित निकाय तथा व्यवस्थापकलाई निर्देशन दिएको छ।

विपद्का बेला पीडित नागरिकसम्म सुरक्षित र गुणस्तरीय खाद्य सामग्री मात्र पुर्‍याउने उद्देश्यले अनुगमनलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *