भोटेकोशी बाढीको चपेटामा जलविद्युत् आयोजना, सयौँ कर्मचारी सम्पर्कविहीन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौँ : भोटेकोशीमा आएको भीषण बाढीले रसुवालगायतका जिल्लामा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार गरी करिब २०० जना सम्पर्कविहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

इप्पानका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै एन्ड्रिज हाइड्रोका ७६, प्रवर्द्धक कम्पनीका ११ तथा परामर्शदाता कम्पनीका ७ जना सम्पर्कविहीन छन्। आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना र पावरहाउसतर्फ २०० भन्दा बढी व्यक्ति उद्धारको प्रतीक्षामा रहेको जानकारी प्राप्त भएको छ।

रसुवागढी जलविद्युत् आयोजनाका ५१ जना तथा मैलुङ खोला आयोजनाका ८ जना पनि सम्पर्कविहीन छन्। यस्तै, रसुवा भोटेकोसी आयोजनामा दुई जना हराइरहेका छन् भने पाँच जना सुरक्षित स्थानमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका छन्।

लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि बाढीपछि सुरुङभित्र रहेका ६० जनासँग सम्पर्क हुन सकेको छैन। प्रभावित आयोजनामा हेलिकप्टरमार्फत उद्धार तथा स्थलगत अवस्थाको निरीक्षण गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले उद्धारमा थप चुनौती देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *