ब्रोड पिक हिमपहिरोमा चार शव भेटिए, उद्धार अभियान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका चार जनाको शव फेला परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिएका हुन्।

फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको छ। काराकोरम हिमशृंखलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोपछि १० जना पर्वतारोही सम्पर्कविहीन भएका थिए।

बेपत्ता हुनेमा नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यस्तै ओमान, पाकिस्तान, चीन र अमेरिकाका पर्वतारोही पनि बेपत्ता सूचीमा छन्।

मन्त्री पौडेलले नेपाली अधिकारीहरू पाकिस्तानी पक्षसँग निरन्तर सम्पर्कमा रहेको र घटनाबारे जानकारी लिइरहेको बताएका छन्। बेपत्ता पर्वतारोहीको खोज तथा उद्धारका लागि पाकिस्तानी सेनाका हेलिकप्टर र विशेष टोली परिचालन गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *