काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्नु समयको आवश्यकता भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलन विगत केही वर्षयता कमजोर र विभाजित बन्दै गएको उल्लेख गर्दै त्यसलाई नयाँ ढंगले संगठित गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र जनताको हितको रक्षा गर्न कम्युनिस्ट शक्तिहरू साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा राखे। साथै, निरंकुश सोच र प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्षलाई थप प्रभावकारी बनाउन पनि कम्युनिस्टबीचको एकता अपरिहार्य रहेको उनको भनाइ थियो।
प्रचण्डले संस्थापक नेता पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यले नेपाली कम्युनिस्ट आन्दोलनको विकासमा पुर्याएको योगदान स्मरण गर्दै उनीहरूको विचार, त्याग र संघर्ष आज पनि उत्तिकै प्रेरणादायी रहेको बताए।
उनले नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्गीय संघर्ष तथा कम्युनिस्ट आन्दोलनलाई संगठित बनाउन खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँको योगदान भावी पुस्ताका लागि मार्गदर्शक बनेर रहने विश्वास व्यक्त गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्