देशभर मनसुन सक्रिय: धेरै ठाउँमा वर्षा, केही क्षेत्रमा अत्यधिक पानी पर्ने चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आइतबार अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार अहिले देशभर आकाशमा बाक्लो बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी तथा हिमाली भूभागका अधिकांश स्थान र तराईका धेरै क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने सम्भावना छ। कोशी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागका साथै तराईका अधिकांश क्षेत्रमा चट्याङसहित वर्षा जारी रहने अनुमान गरिएको छ।

निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *