काठमाण्डौँ । काठमाडौंमा अतिक्रमण हटाउने अभियान तीव्र बनाइएको छ। शनिबार काठमाडौं महानगरपालिकाका तीन स्थान—थापाथली (बागमती किनार) , गैरीगाउँ–सिनामंगल र शान्तिनगरका अतिक्रमित बस्ती हटाइएका छन् । सरकारी जग्गामा बनेका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको महानगर प्रहरीले जनाएको छ।
संयुक्त सुरक्षाटोलीले बासिन्दा र उनीहरूको सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरेपछि मात्र संरचना हटाइएको थियो । बस्ती हटाएपछि क्षेत्र सफा गर्ने काम पनि अघि बढाइने बताइएको छ।
तथ्यांकअनुसार यी क्षेत्रमा ठूलो संख्यामा सुकुम्बासी परिवार बसोबास गर्दै आएका थिए, र अब उनीहरूको पुनर्स्थापना प्रमुख चुनौती बनेको छ। यसैबीच भक्तपुरको मनोहराखोला क्षेत्रमा अवरोध हुँदा २२ सुरक्षाकर्मी घाइते भएका छन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार राजधानीका विभिन्न अतिक्रमित क्षेत्रमा उल्लेख्य संख्यामा सुकुम्बासी परिवार बसोबास गर्दै आएका थिए । प्राधिकरणको तथ्यांकअनुसार थापाथलीमा १४३, गैरीगाउँमा १६२, गोठाटारमा ७७, शान्तिनगरमा ४७६ तथा मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार रहेका छन् ।
सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै शहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन शहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो । यद्यपि, बस्ती हटाउने कामसँगै प्रभावित परिवारको पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा विभिन्न कोणबाट चासो व्यक्त हुन थालेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्